Banner News

महागढीमाईमा नगरपालिकामा कर्मचारी नपाठाएपछि पुतला दहन



काठमाण्डौ,२२ वैशाख । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको पुतला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री ुप्रचण्डुको पुतला दहन गरेका हुन् ।
सयौंको संख्यामा रहेका स्थानीयले प्रचण्डको पुतला दहन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको राजीनामा मागेका हुन् ।
स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतलामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नजिकै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए ।

यसअघि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्रभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका थिए । प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सुनुवाई नभएपछि प्रवेश निषेध गरेको नगर प्रमुख यादवले बताएका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६ सय ५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको काम समेत प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।
नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत चार महिना नहुँदा झण्डै एक अर्बको बजेट फ्रिज हुन लागेको बताउँदै आएका छन् । प्रमुख यादव प्रमुख प्रशासकीय अधिकृत माग गर्न यतिबेला काठमाडौंमा छन्।