समाचार

हेलिकप्टर दुर्घटना अपडेट : १ जनाको मृत्यु



काठमाडौँ, २२ बैशाख । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको हो । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।