काठमाडौँ, २३ बैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुलाई बताएका छन् । उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।
ओलीसँग भेटपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने बताए । अनुसन्धान रोकिँदैन, प्रक्रिया र प्रचलित ऐन अनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुनस् निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रुपमा अगाडि जान्छ’ उनले भने ।
भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा अध्यक्ष ओलीले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताएका हुन् । उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’ अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो । गत बिहीबार पनि दुई नेताबीच यसै विषयमा छलफल भएको थियो । भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे नसहने चेतावनी दिएका थिए । ४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो?रु’ भन्दै प्रश्न समेत गरेका थिए । ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्