अर्थ

मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छ : अर्थमन्त्री महत



काठमाडौँ, २६ बैशाख । अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन् ।

आज राष्ट्रिय सभाको बैठमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो अपेक्षा राखेको बताएका हुन् ।

उनले भने, ‘ब्याजदर धेरै छ, ऋण लिएकाहरु आहत छन्, कसरी सम्भव छ ? भन्ने प्रश्न पनि छ । अवश्य पनि अहिले राजश्व घटेको छ । अवश्य पनि अहिले पुँजीगत खर्च कम छ, त्यसले हाम्रो लक्ष्यअनुसारको आर्थिक वृद्धि भएन, अब हाम्रो पुँजीगत खर्चको प्रभाव बढाउनुपर्छ’ ‘हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ । उदासिनता छ, अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ त्यसलाई अन्त्य गर्नुपर्छ । खर्चको मनिटरिङ पहिलो दिनदेखि नै गर्नुपर्छ, महिना महिना दिनमा गर्नुपर्छ ।’

उनले सरकारको तर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको बताए । उनले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको बताए । महतले भने, ‘अहिले ब्याजदर उच्च भएको हुनाले पहिला जसले लो ब्याजदरमा ऋण लिएका थिए, उनीहरुले पनि हिसाब किताब तिर्न सकेका छैनन्, अब लिन खोज्नेले पनि लिन खोजेका छैनन् । सरकारको तर्फबाट पनि पुँजी खर्च भएको छैन, मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्ने कुरामा पनि समस्या देखिएको छ । मौद्रिक नीतिमार्फत पनि एड्रेस हुनुपर्छ । सम्बोधन हुनुपर्छ ।’