काठमाडौँ, २७ बैशाख । आठ वर्षमा सात शिक्षामन्त्री फेरिए पनि संघीय शिक्षा ऐन आउन सकेको छैन । हरेक मन्त्रीले मन्त्रालयको वागडोर सम्हालेकै दिन संघीय शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्ने गर्छन् । तर, मस्यौदा ऐन तयार भएको सात वर्ष पुगिसक्दा पनि अझै ऐन आउन सकेन ।
वि.सं.२०७२ मा तत्कालीन मन्त्री गिरिराजमणि पोखरेलको आफ्नो कार्यकालयमा तयार भएको मस्यौदा पारित गराएर आफ्नै कार्यकालमा संघीय शिक्षा ऐन ल्याउने बताउनुभएको थियो । तर, दुईपटक मन्त्रालयको कार्यभार सम्हाल्न भ्याएका मन्त्री पोखरेलले शिक्षा ऐन ल्याउन सक्नुभएन ।
त्यसपछि धनीराम पौडेल, गोपालमान श्रेष्ठ, पुनः गिरिराजमणि पोखरेल, कृष्णगोपाल श्रेष्ठ, देवेन्द्र पौडेल र शिशिर खनाल शिक्षामन्त्री भइसकेका छन् । उहाँहरू सबैले शिक्षा ऐन ल्याउने प्रयास गरे पनि सम्भव भएको छैन ।
हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वागडोर सम्हालेका मन्त्री अशोककुमार राईले पनि आफ्ना पूर्ववर्ती मन्त्रीहरूले झैं ऐन ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । तत्कालीन मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क मन्त्रिपरिषद्मा पेस गर्नुभएको थियो । विधेयक मन्त्रिपरिषद्को विधायन समितिमा पुगिसकेको थियो । तर, त्यस बेला त्यो त्यतिकै तुहियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्