समाचार

धादिङमा एक युवकको हत्या



धादिङ, २८ बैशाख । धादिङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–८, निवुवाकोटका अन्दाजी २८ वर्षीय विनोद थापामगरको हत्या गरिएको हो । बुधबार राति करिब पौने १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका थापामगरको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो ।

हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका अन्दाजी २५ वर्षीय निरज पन्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयलाई लिएर सो ठाउँमा अहिले स्थानीयले सडक अवरुद्ध गरेका छन् । सडकमा उत्रिएर उनीहरूले प्रदर्शन गरिरहेका छन् । गल्छी हुँदै नुवाकोटतर्फ जाने–आउने सवारीसाधन ठप्प छ ।