राजनीति

नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्नु निकृष्टतम अपराध हो : अध्यक्ष भट्टराई



काठमाडौँ, २८ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिएका छन् ।

विहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले यस्तो अपराधको जति भर्त्सना गरे पनि थोरै हुने बताएका छन् । नेपाल समाजवादी पार्टीले यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र मुख्यतः प्रहरी प्रशासनले जुन तदारुकता देखाएर अनुसन्धान प्रक्रिया अघि बढाउने कदमको स्वागत गरेको छ । पार्टीले निष्पक्ष ढंगले अनुसन्धानलाई अघि बढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पुर्‍याउन माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो । चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या बनेको छ । दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणहरुले आम नागरिकहरुमा समेत राज्य, राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेको छ । कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ ।’