काठमाडौँ, २९ बैशाख । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुँदै छ ।
बिहीबारबाट सुरु केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । आज बिहान ८ बजेदेखि सरु हुने बैठकमा ती प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुने छ । प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।
समूहगत छलफल मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझावहरु प्रस्तुत गर्ने छन् ।
त्यसपछि आजै स्थायी कमिटीको बैठक बस्ने छ । प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ । त्यसपछि समसामयिक प्रस्तावहरु पारित गरेर अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने छन् र यही वैशाख ३० गते केन्द्रीय समिति बैठक सम्पन्न गर्ने एमालेको कार्यतालिका छ ।










प्रतिक्रिया दिनुहोस्