राजनीति

रास्वपाका नेता मदन राई बाल यौन हिंसामा पक्राउ



काठमाडौँ, २९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मदन राई बाल यौन हिंसामा पक्राउ परेका छन् ।

खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । नेता राईमाथि शुभम् फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । कृषि विज्ञ समेत रहेका राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका राईलाई सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्स्पेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।

शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । सोही कार्यक्रम तथा अन्य गतिविधिहरुमा समेत उनले बाल तथा किशोरीहरूलाई यौन दुव्यवहार गरेको आरोल लागेको छ ।

फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय राईले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए । त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन् । त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन् । उनले केही समय अघि बाल तथा किशोरीहरुमाथि पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडियोहरु रहेका छन् ।