Banner News

नेपालको संवेदनशीलतालाई मित्रराष्ट्रले ख्याल गरिदिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ, ३० बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संवेदनशिलतालाई मित्र राष्ट्रले ख्याल गरिदिनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौँमा डा. अच्युत गौतम र डा. सुरेन्द्र भण्डारीले नेपालको भूभाग लिम्पियाधुरा क्षेत्रको बारेमा लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले छिमेकी देशसँग कूटनीतिक भूमिका निर्वाह गर्दा राजनीतिक दल र दलका नेताहरू संवेदनशील हुनुपर्ने कुरामा समेत जोड दिनुभयो । उहाँले छिमेकी देशहरुबीचको आपसी सम्बन्धमा विश्वासको नवीन आयाम थप्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । हाम्रा पुर्खाहरूप्रति सधैँ उच्च सम्मान गर्नुपर्ने बताउँदै उहाँले इतिहासका गम्भीर मोडहरूमा हाम्रा वीर पुर्खाहरूले लिएका ऐतिहासिक निर्णय प्रस्तुत गरेका त्यागबाट वर्तमानका चुनौतीहरूको सामना गर्ने मार्गदर्शन प्राप्त गर्नुपर्ने धारणा राख्नुभयो ।

दुई छिमेकी देशहरू बीचको आपसी सम्बन्धमा विश्वासको नवीन आयाम थप्न अग्रसर हुनुपर्ने उल्लेख गर्दै उहाँले हाम्रा राजनीतिक दल र राजनेताहरूले मित्रराष्ट्रहरूको सम्बन्धको संवेदनशीलतालाई पर्याप्त रूपले आत्मसात् गर्नुपर्ने बताउनुभयो । हरेक राष्ट्रका लागि राष्ट्रिय हित र सुरक्षा प्रमुख कुरा हुने बताउँदै उहाँले कुनै राष्ट्रका लागि आफ्नो राष्ट्रिय हित र सुरक्षामा संवेदनशील बनिरहँदा अर्को राष्ट्रको राष्ट्रिय हित र सुरक्षामा पनि त्यतिकै संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हामीले हाम्रो गौरवशाली इतिहासबाट मातृभूमि प्रतिको अविचलित समर्पण र निष्ठाका लागि सधैँ उत्प्रेरणा लिनुपर्दछ । दक्षिण एसियामा मात्र नभएर विश्वमा नै सदियौँदेखि आफ्नो अभिछिन्न अस्तित्व र प्रतिष्ठा कायम राख्न नेपालले अभूतपूर्व स्तर सङ्घर्ष गरेको विषय सर्वविदितै छ । इतिहासको कालखण्ड र आधुनिक नेपाल निर्माणको क्रममा हाम्रा पूर्वजहरूले राष्ट्रिय स्वाधीनता कायम राखिरहन बलिदानी पूर्ण युद्ध लड्नुपरयो । अस्थिर रहिरहने भौगोलिक सिमानालाई स्थिर बनाउन लडिएको त्यस महासमरमा हिमाल तराई र पहाडका हरेक नेपाली समुदाय परिवार र बस्तीहरूको बलिदान छ । त्यसैले भनिएको हो यो सानो दुःख त्याग र बलिदानले निर्माण भएको मुलुक होइन ।’