Banner News

देश थङ्थिलो बनाउने भ्रष्टाचारीहरुलाई सरकारले छाड्दैन : मन्त्री श्रेष्ठ



काठमाडौँ, ४ जेठ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश थङ्थिलो बनाउने भ्रष्टाचारलाई सरकारले नछाड्ने बताएका छन् ।

आज बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिका टोलीसँगको भेटवार्तामा श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने स्पष्ट पारे । ‘नक्कली शरणार्थी प्रकरण मात्रै होइन भ्रष्टाचारको जालो देशमा भयानक ढंगले फैलिएको छ । देशलाई थङ्थिलो बनाउने भ्रष्टाचारीलाई सरकारले छाड्दैन’, उनले भने ।

देशको समृद्धि नहुनुको पछाडि भ्रष्टाचार नै प्रमुख समस्या भएको बताउदै उनले भने, ‘अहिले पनि हर ठाउँमा कमिसनको चक्कर छ । ठुला योजनाहरू अध्ययन बिना कमिसनको चक्करमा ल्याउने काम समेत भएका छन् । यसको जरोकिलो उखेल्नुपर्छ, यो अभियानमा सरकार प्रतिबद्ध भएर लागेको छ ।’

उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने प्रतिबद्धता जनाउँदै सोहीअनुसार प्रहरीले कारबाही प्रक्रिया अघि बढाइरहेको बताए । ‘यसमा प्रधानमन्त्रीको दह्रो साथ रहेको छ । देशका प्रमुख दलका नेताहरु पूर्वप्रम शेरबहादुर देउवा र केपी ओलीहरुसँगको भेटमा पनि म कसैको दबाबमा पर्दिनँ भनेको छु’, उनले भने, ‘सरकारले कसैलाई छाड्दैन । प्रहरीले निष्पक्ष छानबिन गर्छ । मैले निर्भीकताका साथ काम गर्न भनेको छु ।’