राजनीति

विपन्न बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई महानगरले कारबाही गर्ने



काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकाले विपन्न असाहाय तथा वेवारिसे बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाहीको चेतावनी दिएको छ ।

महानगरले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को परिच्छेद २४ अनुसार १० प्रतिशत शैया नछुट्याउने र निःशुल्क उपचार नगराउने अस्पताललाई यस्तो चेतावनी दिएको हो ।लक्षित नागरिकको निःशुल्क उपचार, बिरामीमैत्री सेवा, कर्मचारीहरूलाई नियमबमोजिम न्यूनत्तम पारिश्रमिक, फोहोरमैला व्यवस्थापन तथा क्यान्टिनको खाद्य गुणस्तर पनि मापदण्ड अनुसार गर्न महानगरले आग्रह गरेको छ ।

अनावश्यक प्रयोगशाला परीक्षण सिफारिस नगर्न र लक्षित वर्गले निःशुल्क सेवा पाएको विवरण सार्वजनिक गर्न पनि महानगरले निर्देशन दिएको छ । मापदण्ड र नियमबमोजिम नगर्ने अस्पताललाई स्थानीय सरकार संचालन ऐन २०७४ दफा ११ अनुसार कारबाही गरिने महानगरले जनाएको छ ।