Banner News

नक्कली शरणार्थी प्रकरणमा बयानकै आधारमा पक्राउ गर्न मिल्दैन : गृहमन्त्री



काठमाडौँ, ११ जेठ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुमाथि थप अनुसन्धान भइरहेको बताएका छन् ।

आज नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए ।

राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको भन्दै उनले देशमा भ्रष्टाचारको जालो व्याप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए । उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताए ।

उनले भने, “जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ,” “हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन सुशासन अर्थात भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तबमात्रै समृद्धि हासिल हुनेछ ।”