समाचार

चोरीको ३६ केजी चाँदीसहित तीन जना पक्राउ



विराटनगर, ११ जेठ । विराटनगरबाट ठूलो परिमाणमा चाँदीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुन बरामद भएको हो । गत जेठ ३ गते विराटनगर महानगरपालिकाका वडा नम्बर ३ पिपल चोकका जयकिशोर चौधरीको घरमा चोरी भएको र त्यसको जानकारी पाउन साथ सुक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नसमक्ष पुग्न सकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लगातार सात दिनको निगरानीपछि उनीहरूलाई विराटनगर–१२ स्थित कोसी प्रोजेक्ट क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूले चोरीका सामान भारतीय बजार लगेर बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । बरामद सुनचाँदीको मूल्य ६१ लाख बराबर रहेको प्रहरीले जनाएको छ । चोरी गरिएको सुन भारत लगेर बिक्री गरिएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।