राजनीति

सरकारले भारतको चाहनामा राष्ट्रघाती कदम चाल्दैछ: महासचिव पोखरेल



काठमाडौँ, १३ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकारले भारतको जनचाहना अनुसार राष्ट्रघाती कदमहरु अगाडी बढाउन खोजेको भन्दै आक्रोस जनाउनुभएको छ ।

हिजो बसेको मन्त्रीपरिषद्को बैठकले विगतमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाले पारित गरि पठाएको नागरिकता विधेयक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नुभएको थियो । सत्ता टिकाउन गठबन्धन सरकारले बहुमतको भरमा पारित गरेको उक्त विधेयक नेपाल र नेपालीको हितमा नरहेको भन्दै भण्डारीले रोक्नुभएको थियो । उक्त विधेयकलाई प्रमाणीत गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले भारत भ्रमण अगाडी नै भारतीय नागरिकलाई नेपाली नागरिकता सहजै रुपमा दिन मिल्ने उक्त विधेयक पारित गरी नेपाल र नेपालीको लागि नभई भारतीयलाई खुसी पार्न खेल शुरु भएको महासचिव पोखरेलले संकेत गर्नुभएको हो ।

सरकारले भारतको चाहनामा उक्त विधेयक प्रमाणीकरण गर्न खोजेको उल्लेख गर्दै महासचिव पोखरेलले भारतको चाहना जसरी बुझेको छ त्यसरी नेपाली जनताको चाहना बुझे देशमा अहिले उत्पन्न भइरहेको संकट समाधान हुने उल्लेख गर्नुभयो । तीन वर्षअघि विश्वका तिव्रतम् विकास गर्ने १० मुलुक मध्येमा परेको नेपाल यतिछिटै तलवभत्ता समेत खुवाउन मुस्किलहुने अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले सत्तापक्ष आफ्नो वर्तमानका कमजोरीको समिक्षा गर्न नभइ विगतप्रति कटाक्ष गर्न समय व्यतित गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘’रोम जलिरहेछ, नीरो वासुरी बजाइरहेछ’ । भारत भ्रमणमा जानु अघि उस्को चाहना के छ भन्ने वुझेर कामगर्न खोजिरहेको नेपाल सरकारले यसरी नै नेपाली जनताको चाहना के छ भन्ने वुझेर कामगरेको भए आज मुलुकको हालत यति संकटग्रस्त हुने थिएन होला । तीन वर्षअघि विश्वका तिव्रतम् विकास गर्ने दस मुलुक मध्येमा परेको नेपाल यतिछिटै तलवभत्ता समेत खुवाउन मुस्किल हुने अवस्थामा पुगेको छ । तर पनि सत्तापक्ष आफ्नो वर्तमानका कमजोरीको समिक्षा गर्न होइन, विगतप्रति कटाक्ष गर्न समय व्यतित गरिरहेको छ । सायद यस्तै अवस्थालाई भनिएको होलाः ‘रोम जलिरहेछ, नीरो वासुरी बजाइरहेछ’ ।’