राजनीति

रेशम चौधरीलाई आममाफी र नागरिकता विधेयक जारी गर्न किन्तुपरन्तु नगरौंः अध्यक्ष भट्टराई



काठमाडौँ, १३ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीलगायतका नेताहरूलाई संविधान बमोजिम आममाफी दिन र नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताएका छन् ।

भट्टराईले ट्वीट गर्दै चौधरीलाई आममाफी दिन र नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने बताएका हुन् ।

भट्टराईले लेखेका छन्, ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान/कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगरौं । लोकतन्त्र भनेको प्रक्रिया संगसंगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं ।’

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। त्यस्तै रेशक चौधरीलाई आममाफी दिने तयारी पनि सरकारको छ ।