राजनीति

रबिको कोर टिमद्वारा तीन करोड झ्वाम, होला त छानबीन ? गर्ला त सरकारले कार्बाही ?



काठमाडौँ, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले ‘आफूलाई समानुपातिक सांसद बनाउँदा’ पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका छन् । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका ढाकाकुमारले सभापति रवि लामिछानेनिकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको दाबी गरेका छन् ।

‘रविजीको कोर टीममा रहेका खास–खास व्यक्तिहरूले तपाईंलाई सांसद बनाइदिन्छम्, तीन करोड पैसा दिनुहोस् भनेपछि नाई भन्ने कुरै भएन,’ उनले भने, ‘मैले सुरुमा मुकुलजीलाई एक करोड दिएँ । उहाँ पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा हुनुहुन्थ्यो । पछि कार्यालयमै गएर डीपीजी र मुकुलजीलाई एक करोड ८४ लाख दिएँ ।’ छोटो समय सांसद बनेका ढाकाकुमारले आमनिर्वाचनको प्रचारप्रसारका क्रममा आफूले रास्वपाका लागि व्यक्तिगत रुपमा १० देखि १५ लाखसम्म खर्चिएको जनाएका छन् । समानुपातिक सांसद बन्नका लागि उपसभापति र महामन्त्रीलाई दुई करोड ८४ लाख नगद बुझाएपनि पार्टी काममा खटिँदा शीर्ष नेताहरूले लाखौँ रुपैयाँ खर्च गर्न बाध्य पारेको उनको गुनासो छ ।

‘मसँग धेरै पैसा थिएन, सांसद बन्ने नाउमा तीन करोडभन्दा बढी सकेँ,’ ढाकाकुमारले भने, ‘तर अहिले उनै साथीहरूले घात गरेँ। ममाथि अन्याय गरेँ। पार्टीले मलाईं मात्र दोषी बनायो ।’ विवादित मेडिकल व्यवसायी प्रसाईंसँग घुस मागिएको भनिएको ‘कथित टेलिफोन संवाद’को आवाज आफ्नो नभएको उनले स्पष्ट पारेका छन् । ‘मैले पार्टीको लागि पैसा सक्काएको छु । सांसद बनाइदिन्छम् भन्दा उल्टै नेतालाई पैसा बुझाएको छु । तर कसैबाट एक–रुपैयाँ मागिनँ,’ उनले भने ।

रास्वपाबाट निष्कासित भएपछि सांसद पद गुमाएका उनी यतिबेला न्याय माग्दै सर्वोच्च अदालत गएका छन्। अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा धेरै बहस नगर्ने बताइरहेका ढाकाकुमारले आफूले अदालतबाट न्याय पाइछाड्ने दाबी गर्छन् । ‘मेरो कुनै गल्ती छैन । म न्याय पाउँछु,’ उनले भने ।

निष्कासित सांसद ढाकाकुमारको बोली जस्ताको त्यस्तै:

‘भर्खरै पार्टीमा जोडिएको थिएँ, मेरो कसैसँग चिनजान पनि थिएन। सांसद हुनुअघि रविजीसँग पार्टी कार्यालयमा दुईपटक भटघाट भएको थियो । उहाँले मलाई महामन्त्रीसँग समन्वय गर्नुहोस् भन्नुभयो, त्यसपछि मैले मुकुलजीसँग सम्पर्क गरेँ । पार्टीले समानुपातिक सूची तयार पार्दै थियो । उपसभापति डीपीजीले मलाई एकदिन राति फोन गरेर मेरो राजनीतिक पृष्ठभूमि, आर्थिक अवस्था, अध्ययन र पार्टीको गतिविधि कस्तो भइरहेको छ भनेर सोध्नुभयो? मैले सबै भनिबताएँ, अनि कुराकानी सकियो ।

अर्कोदिन दिउँसोतिर महामन्त्रीजीको फोन आयो, उहाँले तपाईंको नाम सांसद हुने सूचीमा राखेका छौँ भन्नुभयो । त्यहाँ चाहीँ आन्तरिक भोटिङको नाटक पनि मन्चन गरियो थियो ! म महिलो नम्बरमा भएको बताउनुभयो । मैले पनि सहमति जनाएँ । मुकुलजीले पार्टीलाई आर्थिक सहयोग चाहिन्छ भन्नुभयो, मैले पनि हुन्छ भनेँ । ऋण कारेर जम्मा गरेको पैसा, काठमाण्डौँ आएको बेला रेस्टुरेन्ट र पार्टी कार्यालयमै गएर दिएँ । अनि समानुपातिक सांसद बनेँ ।’

डीपी अर्याल र मुकुन्द ढकालले उक्त समाचारको बारे खण्डन गरेका छन् । त्यस्तै, महामन्त्री ढकालले पूर्वसांसद ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा आफ्नोसमेत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई उद्धृत गर्दै निजलाई समानुपातिक सांसद बनाउन म सहित हाम्रा महामन्त्री मुकुल ढकालले पैसा लिएको खबर प्रकाशित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो मनगढन्ते खबर खारेज गर्दै त्यसबारे खण्डन गर्न स्वयम् श्रेष्ठलाई आग्रह गर्दै खबरको स्रोतको पुनः परीक्षण गरी गल्ती सच्याउन सो खबर प्रकाशकलाई अनुरोध गर्दछु । यसो नभएमा अरूको चरित्र हत्या गर्ने गरी कपोलकल्पित, मनगढन्ते र भ्रामक समाचार प्रकाशन गर्ने प्रकाशक विरुद्ध उचित कानुनी उपचार समेत खोजिने कुरामा सचेत समेत गराउन चाहन्छु । साथै, सो खबरबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एव हाम्रा शुभेच्छुकहरूलाई अनुरोध गर्दछु,’ सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री अर्यालले भने । ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दैछौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ,’ ढकालले भने ।

साभार : https://breaknlinks.com/nepali/news/35213510