राजनीति

प्रधानमन्त्री प्रचण्डद्वारा कृषि र पशुपालनमा असल अभ्यास अवलम्बन गर्न आह्वान



काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गरेका छन् ।

आज विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितता हुनु जरुरी रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘म देशका सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरुमा सधैं असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गर्दछु ।’ अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उपभोगले आम जनसमुदायको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा खाद्य वस्तुको उत्पादन, उपभोग तथा बजारीकरणमा स्वच्छता र गुणस्तर कायम राख्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । साथै नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार, खाद्य प्रणालीमाथिको सहज एवम् सुलभ पहुँच र स्वास्थ्य रक्षालाई आफूले सधैं उच्च प्राथमिकतामा राखेको उनले बताएका छन् ।