राजनीति

क्रान्तिकारीले दुई वटा स्कुलमा लगाइएको ताला काठमाडौँ महानगरपालिकाले तोड्यो



काठमाडौँ, ३० जेठ । काठमाडौँ महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ ।

महानगरपालिकाले सानो भर्‍याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेको खबर आएको जनाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो । अनेरास्ववियू क्रान्तिकारीले दुई स्कुलमा ताला लगाएको खबर आएसँगै काठमाडौँले तत्काल एक्सन लिएको जनाएको छ ।

मेयर शाहले काठमाडौँ महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएको बताए । पढ्ने ठाउँमा ताला लगाएर अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको शाहको भनाइ छ । ‘चाहे सो विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ’, उनले भने । त्यसैले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाइएको उनको भनाइ छ ।