काठमाण्डौ,५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरेका हुन्।
उनले त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपिट गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे।
‘प्रहरीले पनि भित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गुण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो। न्याय चाहिन्छ। न्यायलाई मर्न नदिऔं,’ उनले भने।
20 June 2023 14:28 PM
प्रतिक्रिया दिनुहोस्