अर्थ

मधेशमा बजेट बिनियोजन कम गरेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न



काठमाण्डौ, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसद अजयकुमार चौरासियाले मधेशमा बजेट कम विनियोजन गर्नुको कारण सोधेका छन् । संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उनले सोधे, ‘७० प्रतिशत राजश्व वीरगञ्जबाट संकलन हुन्छ तर बजेट मधेसमा किन कम भयो रु वीरगञ्ज सरकाको प्राथमिकतामा किन परेन रु नारायणी उपक्षेत्रीय अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस र रंगशाला निर्माणमा कति रकम विनियोजन भएको छ रु’

सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले बजेटमा मधेशलाई हेपिएको कुरामा सत्यता नभएको बताए । उनले भने, ‘मधेश प्रदेशमा कम बजेट विनोयोजन भयो भन्ने साँचो होइन । संघीयताको मर्मअनुसार संघबाट प्रदेश र स्थानीय तहमा १५ प्रतशित बढी रकम मधेश प्रदेशमा जाने गरेको छ । संघबाट सञ्चालन हुने पूर्व पश्चिम राजमार्ग, वीरगञ्ज करिडोर, हुलाकी राजमार्ग, सिँचाइ आयोजनाहरू तराई मधेशलक्षित अगाडि बढेका छन् ।’

तराई मधेश समृद्धि कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको उनले बताए । वीरगञ्ज सरकारको प्राथमिकतामा रहेको उनले प्रस्ट पारे । रंगशाला निर्माणको लागि १ करोड ५० लाख नारायणी अस्पतालको लागि ४१ करोड ३० लाख र क्याम्पको लागि अनुदान जाने व्यवस्था मिलाएको प्रधानमन्त्री प्रचण्डले बताए ।