राजनीति

राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : अध्यक्ष ओली



काठमाडौँ, २२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न राष्ट्रपति नै उत्ताउलिएर अगाडि बढेको आरोप लगाएका छन् ।

आज किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र राष्ट्रपति दुवै संविधान मिच्न लागि परेको बताएका हुन् ।

उनले भने, ‘सम्माननीय राष्ट्रपति ज्यू संविधान मिच्न आफै उत्ताउलिएर अगाडि बढ्नुभयो । उहाँले सत्ताको पक्ष लिनुभयो त्यो दुखद कुरा हो ।’ अध्यक्ष ओलीले सरकार लगातार संविधान मिच्न लागिपरेको पनि बताए । ‘अहिले पनि तपाईँहरूले देख्नुभएको छ । संविधान लगातार मिच्ने । कसैको बहुमत छैन, यी बहुमत नभएका पार्टीहरू सातआठ वटा एकठाउँ मिलेर, स्वार्थ बाँडेर, देशका हितहरुलाई चकनाचुर पारेर, बर्थडेको केक काटेझै राष्ट्रका हितहरु काटकुट पारेर, बाँडेर सत्ता बनाउने र टिकाउने घिनलाग्दो खेल खेलिरहेका छन्’, अध्यक्ष ओलीको भनाइ छ ।