राजनीति

जनदबाबले राप्रपाको एजेन्डा पूरा हुनसक्छ : अध्यक्ष लिङदेन



काठमाडौँ, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले जनदबाबले राप्रपाको एजेन्डा पूरा हुन सक्ने बताएका छन् ।

आज काठमाडौँमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताए । उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरू प्रयोग भएका दृश्य देखिन थालेको भन्दै समयमै सजग हुनुपर्ने बताए ।

संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि राप्रपा अघि बढेको उनले उल्लेख गरे । देशको निर्णयको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदबाब सिर्जना गर्न सके राप्रपाको एजेन्डा पूरा हुन सक्ने उनको भनाइ छ ।

अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थालाई परिवर्तन नगरेसम्म देशको स्थायित्वको कल्पना गर्न नसकिने टिप्पणी गरे ।