काठमाण्डौ, २४ असार । मन्त्री नबनाएपछि कोशी प्रदेशका माओवादी सासंद नारायण बुर्जा मगरले राजीनामा गर्ने धम्की दिएका छन् । दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्यांकन गर्न नसकेको भन्दै उनले कोशी प्रदेश सरकार गठनप्रति विमति जनाए ।
शनिबार बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी बिच्किएका हुन् । नवनियुक्त अर्थमन्त्री आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाईं हुन् । उनकी श्रीमती गंगा दाहाल प्रधानमन्त्रीका स्वकीय सचिव छिन् ।
माओवादीमा लामो समयसम्म राजनीति गरेकालाई पाखा लगाउँदै आचार्य दोस्रोपटक मन्त्री बन्न सफल भएका हुन् । उनी यसअघि पाँच महिना पर्यटनमन्त्री थिए।
बुर्जा मगरले आफू र आफूलाई मतदान गर्ने मतदातामाथि बारम्बार अन्याय भएको बताए । उनले आफूले प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिने मनसाय बनाएको बताए । उनले भने, ‘आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासंग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिने मनसाय बनाई सकेको छु।’










प्रतिक्रिया दिनुहोस्