विश्व

भारतले धौलीगङ्गाको बाँध खोल्ने



काठमाडौँ, २६ असार । भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका आज खोलिँदैछ । बाँधका ढोका खोलिने भएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई आज बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका आज १५ घण्टाका लागि खोल्न लागिएको छ । यो परियोजनाकाे बाँधका ढोका खोल्दा महाकाली नदीमा बाढी आउँछ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका अहिले बिहानदेखि आज राति ८ बजेसम्म खुल्नेछन् । यो अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको छ ।