राजनीति

बिदेसिनेको सङ्ख्या झन् बढ्यो : महासचिव पोखरेल



काठमाडौँ,  २ साउन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विदेश गएका नेपालीलाई स्वदेश फर्काउँछौ भन्ने राजनीतिक पार्टीको उदयपछि बिदेसिनेको सङ्ख्या बढेको बताएका छन् । 

उनले नेकपा(एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेश जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा(एमाले) हो भन्ने जनविश्वासलाई उजागर गरेको दाबी समेत गरेका छन् । 

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै भनेका छन्, ‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै बिदेसिनेको सङ्ख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा(एमाले)ले नै लिनुपर्ने हो र ?’ ‘तर तथ्यहीन रूपमा पुराना पार्टीका कारणले बिदेसिने बढे भनेर नेकपा(एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो’, महासचिव पोखरेलले भनेका छन्,‘त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठिक र बेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’