काठमाडौँ, १५ साउन । नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनासँग ४४ लाख ५० हजार रुपैयाँ ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १३ स्थायी घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने कपिल बर्मालाई पक्राउ गरेको हो । उनले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड पठाईदिने भन्दै जनही १२ लाख रुपैयाँ लाग्ने बताएका छन् ।
यस्तै नेदरल्याण्ड पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाएका थिए । सोही अनुसार उनले पीडितहरूबाट पटकपटक गरी चवालिस लाख पचास हजार रुपैयाँ उठाएर सम्पर्क विहीन भएपछि पीडितहरुले ठगीको उजुरी दिएका थिए । जसअनुसार वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा बर्मालाई मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्