काठमाडौँ, २३ साउन । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालक आन्दोलित भएका छन् ।
नेशनल प्याव्सन केन्द्रीय कार्यसमिति अध्यक्ष पाण्डव हमाल, हिसान केन्द्रीय कार्यसमिति अध्यक्ष रमेस सिलवाल तथा प्याव्सन केन्द्रीय कार्यसमिति अध्यक्ष डिके ढुंगानाद्वारा आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै मंगलबार आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
सरकारले निजी विद्यालयका सञ्चालकलाई प्रोत्साहन हुने गरी ऐन संशोधन गर्नुपर्नेमा आवश्यक प्रावधान नै तयार नगरी हठात् विधेयक दर्ता गरेको उनीहरुले आरोप लगाएका छन् । निजी विद्यालयका सञ्चालकहरुले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयलाई शैक्षिक गुठीमा लैजानेबारे एकतर्फी निर्णय गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए ।
‘यो विधेयक गैर संवैधानिक छ । यो संविधानभन्दा विपरीत छ । धारा २५ मा सम्पत्तिको हक छ । प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक आर्जन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने उल्लेख छ । हामी कम्पनीअन्तर्गत सञ्चालनमा छौँ ।’ हिसान अध्यक्ष रमेश सिलवालले भने । निजी विद्यालयका सञ्चालकले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन २४ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाई, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।
यस्तै, साउन २५ गते विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तरक्रिया गर्ने, २७ गने आन्दोलनको समीक्षा गर्ने, २७ गते देखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द तथा विद्यालयका सवारी साधन सार्वजनिक स्थानमा पार्किङ गर्नेजस्ता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्