Banner News

संसद् हाईज्याक भएको सभापति लामिछानेको टिप्पणी



काठमाडौँ, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा ‘हाईज्याक’ भएको टिप्पणी गरेका छन् । सुन तस्करी प्रकरणमा छानबिन आयोगको माग गर्दै नेकपा एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध पार्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

“सभामुख महोदय संसद् हाइज्याक गर्न पाइन्छ ?,” सभामुखले समय नदिएपछि अक्रोशित देखिएका लामिछानेले टेबल ठोक्दै भने, “संसद् कुनै दल विशेषको मात्र हो ?” सोमबारको प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै एमाले सांसदहरूले सुन तस्करीको छानबिन गर्न माग गर्दै नाराबाजी गरेका थिए । यता एमाले सांसदहरूले नाराबाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने टेबल ठोकेर ध्यानाकर्षण गराउन खोजेका थिए ।

यसअघि पनि लामिछानेले सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मात्र आफ्नो कुराहरू राख्न दिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । रास्वपा सांसदहरूले विरोधका रूपमा यसअघि संसद् भवनबाहिर नै संसद् बैठकको अभ्यास गरेर आफ्नो धारणा राखेका थिए । पार्टीले संसद् अवरुद्ध भएको समयको भत्ता नलिनेसमेत घोषणा गरिसकेको छ ।