राजनीति

सुवास नेम्वाङको पार्थिव शरीर च्यासलमा



काठमाडौँ, २६ भदौ । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुर्‍याइएको छ ।

नेम्वाङको आज बिहान निधन भएको हो । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट च्यासल लगिएको हो । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरिसकेको छ । सोहीअनुसार नेपाली सेनाको टोलीले नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालय च्यासल पुर्‍याएको थियो ।

आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट नेम्वाङलाई राजकीय सम्मान र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले राजकीय सम्मान दिने निर्णय गरेपछि पार्थिव शरीर व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको हो ।

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएकी छन् ।