काठमाण्डौ,२२ असोज । इजरायलको बंकरमा रहेका विपिनलाई प्रधानमन्त्रीको फोन, भने( उद्धार छिट्टै
इजरायलमा बंकरमा रहेका नेपाली विद्यार्थी विपिन सुवेदीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोनमा कुराकानी गरेका छन् । सुवेदी ४९ जना विद्यार्थी समूहका टोलीनेता हुन् ।
फोनमा प्रधानमन्त्रीले इजरायलमा रहेका नेपालीलाई नेपाल सरकारले सकेसम्म छिटो उद्धारका लागि तयारी गरिरहेको भन्दै नआत्तिन भनेका छन् । उताबाट विपिनले छिटोभन्दा छिटो आफूहरूको उद्धार गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले सम्पर्कमा रहिरन सुवेदीलाई आग्रहसमेत गरेका थिए । हमासको आक्रमणपछि प्रधानमन्त्री प्रचण्डले त्यहाँको अवस्था बुझ्न, घाइतेको उपचार, हराएकाहरूको खोजी, घटनामा परी निधन भएकाहरूको शवको पहिचान र नेपाल ल्याउन पहल गर्ने विषयमा रातोदिन अवस्थाको जानकारी लिने र निर्देशन दिने काम गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनले त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरेका छन् । त्यो टिमले रातिको समयसमेत नभनी काम गरिरहेको छ । इजरायली पक्षसँग कुरा गरी आजै युद्धक्षेत्रका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लगिँदै छ। हमास समूह लुकीछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकाले बङ्करका विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्