विश्व

हतियारसहितको अमेरिकी पहिलो विमान इजरायल अवतरण



काठमाण्डौ,२४ असोज । इजरायल र हमासबीचको युद्ध पाँचौँ दिनमा प्रवेश गरेको छ । मंगलबार रातभर हमासको अखडा गाजापट्टीका दुई सय स्थानमा इजरायलका सेनाले हवाई अक्रमण गरेका छन् ।

यो युद्धमा हालसम्म २१ सय मानिसले ज्यान गुमाइसकेका छन् । हमासको आक्रमणमा इजरायलमा १२ सयले ज्यान गुमाउँदा गाजा क्षेत्रमा ९०० प्यालेस्टाइनीको ज्यान गएको छ ।

अमेरिकाले हमासको आक्रमणपछि नै इजरायललाई हतियार दिने वाचा गरेको थियो । सोहीअनुसार मंगलबार राति अमेरिकाले पठाएको हतियारको पहिलो खेप इजरायल पुगिसकेको छ । इजरायलको नेवातिम एयरबेसमा अमेरिकी विमान हतियारसहित अवतरण गरेको हो ।

यस्तोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हमास र इजरायलबीचको युद्ध अमेरिकी विदेश नीतिको विफलता भएको बताएका छन् । अमेरिकाले प्यालेस्टाइनको हितलाई नजरअन्दाज गरेको पुटिनको भनाइ छ ।

यसैगरी, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका समकक्षी बेन्जामिन नेतन्याहुसँग टेलिफोन वार्ता गर्दै हतियार सहयोगलाई दोब्बर बनाउने पनि बताएका छन् । हमासको आक्रमणमा १४ जना अमेरिकी नागरिक मारिएपछि इजरायललाई जस्तालाई त्यस्तै जवाफ दिने अधिकार भएको अमेरिकाले बताएको छ ।

यसैबीच, हमासको समर्थनमा लेबनानको हिज्बुल्लाह लडाकु समूहसँगै यतिबेला सिरियाले पनि इजरायलमा आक्रमण गरिदिएको छ । इजरायली सेनाका अनुसार सिरियाबाट गोलाबारी र रकेट हमला भएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार पनि प्यालेस्टाइनको समर्थन गर्ने समूहले इजरायलतर्फ रकेटहरू हानेका छन् । मंगलबार लेबनानबाट १५ वटा रकेट इजरायलतर्फ आक्रमण भएको पनि बताइएको छ ।