राजनीति

इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय



काठमाण्डौ,२५ असोज । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

कोशीको मुख्यमन्त्रीमा यसअघि कांग्रेसले पनि दाबी गरेको थियो । तर, मुख्यमन्त्रीको उम्मेदवारका विषयमा सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच विवाद भएको थियो ।

कांग्रेस आन्तरिक विवादमा फसेपछि सत्ता गठबन्धनको बैठकले कोशीको मुख्यमन्त्रीमा माओवादीका आङ्बोलाई अघि बढाउने निर्णय गरेको हो । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ उपधारा ५ बमोजिम असोज २० गते आह्वान भएको सरकार गठनको म्याद २६ जेठमा सकिँदै छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा नेकपा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एक जना सांसद छन् ।