अर्थ

डेढ अर्ब रुपैयाँ भन्दा धेरैको भाइ मसला विभिन्न देशबाट आयात



काठमाडौँ, २९ कार्तिक । चालू आर्थिक वर्षको तीन महिनामा डेढ अर्ब रुपैयाँ भन्दा धेरैको भाइ मसला विभिन्न देशबाट आयात भएको छ । दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइ मसला दिने प्रचलन रहेको छ ।

भन्सार विभागको तथ्याङ्कका अनुसार साउन, भदौ र असोजमा एक अर्ब ५० करोड ३४ लाख रुपैयाँको भाइमसला आयात भएको छ । यो गएको वर्षको तुलनामा ३४ करोड रुपैयाँले धेरै हो । सबैभन्दा धेरै नरिवलको आयात भएको छ । तीन महिनामा ३१ करोड रुपैयाँ बराबरको नरिवल आयात भएको हो ।

भाइमसलाको रुपमा प्रयोग हुने ओखर ७६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गतवर्षको तुलनामा यस वर्ष काजुको आयात भने घटेको छ । गतवर्ष ३० करोड रुपैयाँको काजु आयात भएकोमा यसवर्ष १३ करोड रुपैयाँ बराबरको मात्र काजु आयात भएको तथ्याङ्क छ ।

भाइमसलाको रुपमा प्रयोग हुने बदामको आयात केही बढेको छ । तीन महिनामा १९ करोड रुपैयाँ बराबरको बदाम आयात भएको छ । यस्तै, नौ करोड रुपैयाँको किसमिस र पाँच लाख रुपैयाँ बराबरको पिस्ता आयात भएको विभागले जनाएको छ । सुपारीमा आयात प्रतिबन्ध लगाएकाले यसपालि सुपारी आयात भएको छैन ।