अर्थ

दशैंपछि काठमाडौँ उपत्यकामा १ करोडका धनमाल चोरी



काठमाडौँ, १ मंसिर । दशैंपछिका २० दिनमा काठमाडौँ उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार कार्तिक ११ देखि ३० गतेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएको छ ।

काठमाडौँका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् । त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको छ । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यही २० दिनको अवधिमा काठमाडौँको ५ ठाउँमा लुटपाट भएको छ । लुटपाटमा संलग्नको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।