राजनीति

धरपकड र नजरबन्द जनताको मौलिक हक विपरीत : अध्यक्ष लिङ्देन



काठमाडौँ, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत हुने टिप्पणी गरेका छन् ।

 दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि लिङ्देनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै लेखेका छन्,‘ शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौँमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्। धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस् ।’