गुल्मी, १५ पौष । गुल्मीका एक युवाले आफ्नो विवाहको खर्च रकम कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका- ३ भाँडगाउँका मोहन बस्नेतले बिहेको भोज खर्च कटाएर गाउँमै विशेषज्ञ चिकित्सकसहितको एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हुन् । सुगर, प्रेसर, थाइराइड, दम, ग्याष्टीलगायतका समस्यामा रहेकी पम्फी विश्वकर्माले गाउँमा राखिएको स्वास्थ्य शिविरले लाभ मिलेको बताइन ।
निःशुल्क स्वास्थ्य शिविरमा भाँडागाँउका वडाकासँगै सदरमुकाम तम्घास र अन्य ठाउँबाट समेतका मानिसहरुको सहभागिता रहेको थियो । बिहेको भोजमा फजुल खर्च गर्नुभन्दा मानव सेवामा खर्च गर्नु उचित हुने भएकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको सञ्चारकर्मीसमेत रहेका मोहन बस्नेतले बताए ।
गत मंसिर १३ गते विवाह गरेका बस्नेतले विवाहलाई भडि्कलो नबनाइ थोरै रकम भए पनि मानवीय सेवामा लगाएको बताए । ४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, १०८ जनाको सुगर जाँच, ४३ जनाको युरिक एसिड जाँच, २२ जनाको पिसाव जाँच र ६५ जना विद्यार्थीको रक्त समूह परीक्षण गरिएको बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्