समाचार

गोंगबुमा टिपरको ठक्करबाट युवकको मृत्यु



काठमाडौँ, २३ पौष  । काठमाडौँको गोंगबुस्थित मित्रनगरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान बा.प्र.०३–००१ प ०५०० नम्बरको टिपरले बा५४प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलका चालक गोरखाकै इमान गुरुङ गम्भीर घाइते भएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार, उनीहरू दुवैजना तारकेश्वर नगरपालिका बस्दै आएका थिए । टिपर चालक दाङका २५ वर्षीय सविन पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख एवं डीएसपी अमरबहादुर थापाले जानकारी दिए ।