समाचार

अनलाइन जुवा खेलाउने तीन जना पक्राउ



काठमाडौँ, २६ पौष । अनलाइनमार्फत जुवा खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने/गराउने तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौँको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती नगरपालिका-२१ को निशानराज कार्की र सर्लाही बरहथवा नगरपालिका-११ हिरापुरा घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने २५ वर्षीय निशान गौतम छन् ।

प्रहरीले उनीहरूको साथबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई  आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।