राजनीति

मन्त्रालयको संख्या घटाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ



काठमाडौँ, २८ पौष । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका छन् ।

आज ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाउने प्रस्ताव अस्वीकार गर्दै यस्तो बताएका हुन् । 

मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने धारणा राख्दै उनले घटाउनुपर्ने बताएका हुन् । मन्त्रालय थप्ने माग सम्बोधन गर्न नमिल्ने उनले स्पष्ट पारे । 
उनले हस्तकलासम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए ।  उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तिव्रता दिन चाहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूला  उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेको बताए । सरकारले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए । हस्तकला क्षेत्रको विकासका लागि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको उनको भनाइ छ ।