Banner News

वर्तमान सरकार बहुआयामिक रूपमा असफल : प्रदीप ज्ञवाली



काठमाडौँ, ७ माघ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बहुआयामिक रूपमा असफल भएको बताएका छन् ।

आज चितवनको भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकका सबै अंगहरू फेल भइसकेको र सरकार पूर्णरूपमा असफल भएको बताएका हुन् ।

उनले वर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भूमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताए । उनले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागिपरेको आरोप लगाए ।

भारतसँग हालै भएको सम्झौताले नेपाललाई दीर्घकालीन रूपमा असर पर्ने जिकिर गरे ।