Banner News

‘समुदायमा कांग्रेस’ अभियान आजबाट



काठमाडौँ, १३ माघ । सत्तारूढ दल नेपाली कांग्रेसले आजबाट ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत कांग्रेस देशभरका ६ हजार ७४३ वडासम्म पुग्ने र जनताको कुरा सुन्ने जानकारी दिएको छ । 

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस अभियानअन्तर्गत वडा तहसम्म पुग्ने प्रतिनिधिहरूले औपचारिक आसनग्रहण गर्न पाउने छैनन् । यस्तै, प्रतिनिधिले भाषण पनि गर्न पाउने छैनन् । 

पार्टीले अभियानका लागि केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि तथा वडा प्रतिनिधिबाहेक केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरूलाई आफू क्रियाशील सदस्य रहेको वडामा पुग्न अनिवार्य गरेको छ । यसरी अभियानमा वडा तहसम्म पुगेका प्रतिनिधिहरूले वडामा कुनै श्रम वा सामाजिक कार्यमा सहभागी अनिवार्य हुनुपर्ने मुख्यसचिव पौडेलले जानकारी दिए । 

कांग्रेसले माघ १६ गते सहिद दिवसको दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ गर्ने जानकारी दिएको छ । पौडेलका अनुसार अभियानको पहिलो चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।