बाजुरा, ८ फागुन । वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ ।
६ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाका विच्छ्याँ र रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदहलगायत क्षेत्रमा हिमपात भएको हो ।
बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा भएको हिमपातले जनजीवन कष्टकर बनेको छ । बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायत उच्च हिमाली क्षेत्र यो वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् । चिसोसँगै हिमपातपछि विद्यार्थीलाई आवतजावतमा समस्या हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।










प्रतिक्रिया दिनुहोस्