Banner News

ओलीले भने– पार्टी सदस्यतालाई मात्रै आधार बनाएर अब टिकट दिइनेछैन



काठमाण्डौ, ८ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् । एमाले बागमती प्रदेशले आज मध्यपुर थिमिको बोडेमा आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पार्टी सदस्यताकै आधार बनाएर अब टिकट नदिने बताए ।पार्टीको सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर मात्र टिकट नबाँडिने उल्लेख गर्दै उनले देश, जनता र पार्टीको काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनावमा टिकट दिइने बताए ।

विगतमा पार्टी अधिवेशन एवं महाधिवेशनमा होस् कि स्थानीय तहदेखि संसदीय तहसम्म पार्टी सदस्यता लिएको यति वर्ष भयो, उति वर्ष भयो, मैले केही पाइनँ भनेर टिकट माग्न आउने गरेका स्मरण गर्दै अध्यक्ष ओलीले टिकटका लागि पार्टीको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए ।पार्टीले जिल्ला–जिल्लामा भेला र प्रशिक्षण आयोजना गर्ने तथा ती भेला र प्रशिक्षण नै परीक्षाको रूपमा रहने भन्दै उनले देश र पार्टी बनाउन एमालेका नेता, कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले तीन दिनसम्म चल्ने प्रशिक्षणमा पार्टीलाई अझै कसरी बलियो बनाएर लैजाने भन्नेबारे बृहत् छलफल हुने बताए ।