राजनीति

वाग्मती प्रदेशसभा बैठक सोमबार बस्ने



मकवानपुर, १७ चैत । वाग्मती प्रदेशसभाको बैठक आगामी सोमबार (चैत १९ गते) बस्ने भएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए ।

प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।

एक सय १० सदस्य रहेको वाग्मती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एमाले)का २७ (उपसभामुखसहित), नेकपा (एकीकृत समाजवादी)का सात र  हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् । यसैगरी, प्रदेशसभामा नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ (सभामुखसहित) र नेमकिपाको तीन सदस्य रहेका छन् ।