Banner News

आगामी उपनिर्वाचनमा एमालेले जित्छ : अध्यक्ष ओली



काठमाडौँ, १७ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् ।

उनले भने, ‘विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्रा विरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरू सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नु परेको थियो । र पराजयको पीडा बेहोर्नु परेको थियो । यस पल्ट हामी त्यस पीडालाई सुखद परिणामतर्फ रूपान्तरित गर्न चाहन्छौँ । परिवर्तन गर्न चाहन्छौँ । यस पटक हामी हार्दैनौँ । यस पटक हामी जित्छौँ । र यस पल्ट हामीले हार्नै मिल्दैन । गत निर्वाचनमा सबै एकातिर, हामी एकातिरको अवस्थामा थियौँ । हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरू पार्टीबाट अलग भएका थिए, पार्टी फुटाएका थिए । एमाले त शून्य सिटमा झर्छ  समेत भनेका थिए । त्यो साहस हामीविरुद्धको गठबन्धनबाट आएको थियो ।’