काठमाडौँ, १८ चैत । ‘एसएमएस फ्रेन्डसिप कप’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।
आज भारतको वापीमा भएको खेलमा गुजरातले प्रस्तुत गरेको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए । रोहितसँगै अविजित रहेका अनिल साहले ३२ रन थपे । यी दुई ३४–२ को अवस्थाबाट तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्याएका हुन् ।
यसबाहेक, ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले क्रमशः १७ र १६ रन बनाए । गुजरातका हेमांग पटेल र तेजस पटेलले समान एक विकेट लिए । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि हाल नेपाली टिम भारतमा छ । नेपालले अब अप्रिल २ मा बरोडासँग खेल्नेछ । यसपछि अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ । शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल वापीमै हुनेछ ।










प्रतिक्रिया दिनुहोस्