राजनीति

गल्ती सच्याऊँ, इतिहास दोहोरिन नदिऊँ : डा. भट्टराई



काठमाडौँ, १९ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहासको गल्ती नदोहोराउन सचेत गराएका छन् ।  इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गएको उनको भनाई छ ।

उनले सामाजिक सञ्जाल मार्फ़त देशको आर्थिक तथा सामाजिक रूपान्तरणको काम अधूरै रहँदा युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेको उनको भनाई छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

नयाँ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरङ्कुश पञ्चायती कालरात्रि जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरु राजासँग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट  “गद्दार”  घोषित भएर एक्लिएका थिए!

दिनदिनै रेडियोबाट समाचार आउँथ्यो- आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पञ्चायत प्रवेश गरे! भोलि प्रनेकपा ( प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी) का पोलिटब्युरो सदस्य पञ्चायत प्रवेश गरे! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुसी गर्थे – राजाको निरङ्कुश पञ्चायती प्रजातन्त्रसय वर्ष टिक्ने भयो!

अर्को वर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए!  राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पञ्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट  पार्टीमा फर्कन थाले! फेरि पनि जनमतसंग्रहमा बहुदललाई धाँधली गरेर हराइयो! 

पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिएकै अवस्थामा गद्दारकै पगरी भिरेर संसारबाट बिदा भए! बिपीले केही वर्षपछि २०३९ सालमा हताश र निराश अवस्थामा इहलोक परित्याग गरे।

दश वर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिस्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिस्टका भित्तामा पुष्पलाल सजिए।

परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्‍यो! दश वर्षको सशस्त्र सङ्घर्ष र त्यसको पूरक जनआन्दोलन/मधेस विद्रोह लगायतका सङ्घर्षको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो!

तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्।बाबुरामहरू जस्ता केही मूर्खहरू नयाँ ढङ्गले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!

के इतिहासको गति रोकिन्छ तभनिन्छ- History repeats, because men repeat their mistakes ! गल्ती सच्याऊँ, इतिहास दोहोरिन नदिऊँ!