काठमाडौँ, २७ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्था र बोर्डबाट सञ्चालित अनुमतिप्राप्त विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न आग्रह गरेको छ ।
आईबी, सीबीएसईलगायत विदेशी बोर्डबाट सञ्चालित विद्यालयहरूको सम्बन्धमा मन्त्रालयमा उजुरी र गुनासो आएको भन्दै अनुमति नै नलिई पठनपाठन गराउँदै आएका शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न मन्त्रालयले सूचित गरेको हो ।
आईबी, सीबीएसई र ए–लेभलको कक्षा सञ्चालन गर्न अनुमति पाएका ४९ वटा शिक्षण संस्थाको सूचीसमेत मन्त्रालयले सार्वजनिक गरेको छ । अनुमति पाएका विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न/गराउन भनिएको छ । त्यस्ता शिक्षण संस्थालाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको समेत शिक्षा मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्