काठमाडौँ, २९ चैत । मुस्लिम धर्मावलम्बीले आज इद (इद उल फित्र) पर्व मनाउँदै छन् ।
एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन् ।
अरबी पात्रो हिजरी सम्वत् अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् ।
दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुसीपूर्वक दान गरेर दीन–दुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान स्नान गरी नयाँ कपडा लगाएर विशेष नमाज पाठ गरेपछि ठूलाबडाबाट आशीर्वाद लिने क्रम सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्